पार्टीले निर्णय गरे प्रचण्डलाई अध्यक्ष मान्न तयार हुनुपर्छ : नबिना लामा

काठमाडौं – एमालेकी सांसद तथा एमाले भातृ संगठन अलेरास्ववियूकी अध्यक्ष नबिना लामाले बाम एकतापछि माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न तयार हुनुपर्ने बताएकी छिन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै उनले हालका एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड वा तेस्रो कुनै नेताले एकीकृत पार्टीको नेतृत्व गर्न सक्ने बताउँदै अध्यक्ष को हुने भन्ने विषयमा एकीकृत पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने बताइन् ।

‘अध्यक्ष को हुने भन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो’ उनले भनिन् ‘पार्टीले एमाले अध्यक्षज्यू, माओवादी अध्यक्षज्यू वा अर्को कसैलाई पार्टी अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्छ भने त्यो हामी सबैले मान्नुपर्छ ।’ उनले पार्टी एकताको समय लम्बिएकोतर्फ इंगित गर्दै आफूहरुले एकताको लागि समय सीमा नतोकेको हुँदा ढिलो भयो भनिहाल्नु उपयुक्त नहुने बताइन् । जनताले बाम गठबन्धनलाई दिएको म्याण्डेड विकास समृद्धि र स्थिर सरकारको लागि भएको बताउँदै उनले त्यो लक्ष्यतर्फ सरकार निरन्तर अग्रसर भएको बताइन् ।

लामा अहिले एमाले अखिलकी अध्यक्ष छिन् । उनले आफ्नो पद हस्तान्तरण गर्नेतर्फ पहल भइरहेको बताइन् । ‘पद कसैलाई टिका लगाएर दिने कुरा होइन’ अखिलको अध्यक्षता हस्तान्तरणका विषयमा कुरा गर्दै उनले भनिन् ‘प्रक्रियागत रुपमा प्रतिस्पर्धा वा सहमतिका आधारमा नेतृत्व हस्तान्तरण हुन्छ ।’ अखिलमा अहिलेसम्म प्रमुखहरुले सांसद निर्वाचित भएपछि पद हस्तान्तरण गरेका छन् । २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजिनामा दिएका थिए । उनले राजीनामा दिएसँगै हाल नेकपा एमालेका सचिव रहेका योगेश भट्टराई अध्यक्ष बनेका थिए । हाल लामा सांसद भएपछि अखिल पुनर्गठन हुनुपर्ने मुद्दा बहसको विषय बनिरहेको छ ।

लामाले स्थापना दिवसका दिन भएको ब्यानरसम्बन्धी विवाद प्राविधिक त्रुटि भएको बताइन् । त्यस दिन सानो घेरा भित्र १–२ जनाले आफ्नो चरित्र देखाएको भन्दै उनले भनिन् ‘त्यसले पार्टी वा बाम गठबन्धनमा कुनै असर पर्दैन ।’ त्यस्तो गर्नेहरु एमाले र माओवादी दुवै पार्टीका कार्यकर्ता भएको भन्दै उनले अब त्यस्तो हुन नदिन सचेत रहेको बताइन् । यदि पार्टी एकता हुन समेत भने भोलिका दिनमा आफूहरुको अस्तित्व नै खतरामा पर्ने उनको बुझाइ छ । उनले भनिन् ‘जनताले पत्याएर यो उचाई र अवसर हामीले प्राप्त गरेका छौ एकता हुन सकेन भने त्यो गुम्छ र भोलि हामी बढारिन्छौं ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन