पूजा ‘योनी’ को पनि हुन्छ

– रमण पनेरू
केही साताअघि सामाजिक सञ्जालमा एक लेखिकाको लेख खुब बाँडिदै थियो। लिंगको मात्रै पूजा हुने, लिंग मात्रै पवित्र हुने र योनी अपवित्र हुने भन्ने खालका वाक्यांशलाई विशेष गरेर उचालिएको थियो।

धर्मको फरक किसिमले विवेचना सुरू भएको अहिले भर्खरै होइन। यो अलि अघिदेखि नै चल्दैछ। नेपाली समाजमा बरू धर्मलाई नारीवादी दृष्टिकोणले हेरिन थालेको भने धेरै भएको छैन। यो आफैंमा नराम्रो होइन। तर, बिना अध्ययन तर्कका लागि तर्क गरिनुले कसैलाई काहिँ पुर्‍याउँदैन। बरू त्यसले धर्मको अल्पज्ञान मात्रै बाँड्ने काम गर्छ। तसर्थ यो लेखकको प्रयास भनेको उक्त लेख मार्फत ठड्याइएका केही प्रश्नहरुको उत्तर दिनु हो।

म कुनै ठूलो धर्मवेत्ता होइन। आमाले चुलाको छेउमा रोटी पकाउँदा गाएका रामायणका श्लोक र बाबाले दशैंका बेलामा पाठ गरेका शप्तशतीका श्लोकहरुबाटै मैले धेरै हदसम्म धर्मको ज्ञान पाएको हो।

संस्कृतको इज्जत कम भएपछि बाबाले अंग्रेजी विद्यालयमा भर्ना गरे पनि बेलाबेला कठोपनिषदका अध्यायहरु जोरले पढ्न लाउँथे। आफ्ना आँखा कमजोर भएको बहाना गर्दै उनले ममा धर्मप्रतिको जिज्ञासा भरिरहेका थिए। कम से कम मलाई त्यस्तो लाग्थ्यो। त्यसै क्रममा धर्मको सम्पूर्ण ज्ञान नभए पनि त्यसको आफ्नै किसिमको परिभाषा मैले पनि बनाएको थिएँ।

मलाई लाग्छ धर्म भनेको पुरानो समयको संविधान जस्तै हो। त्यसले अड्डा अदालत, प्रहरी प्रशासन लगायतले अहिले अपराध नियन्त्रणमा निभाएको भूमिका निभाएको थियो। ईश्वरको डरले धार्मिक पुस्तक छुने मान्छे सत्य बक्थे र अनुसन्धानको खाँचो हुन्थेन।

ईश्वरकै डरले धेरैले आपराधिक कृयाकलापबाट आफूलाई टाढा राख्थे। धर्म भनेको अनुशासन पनि हुन्छ। धर्म भनेको कर्तव्य पनि हुन्छ। धर्म भनेको परोपकार पनि हुन्छ। त्यसैले साँझका पाहुनालाई वास दिनु धर्म मानिन्छ। तिर्खाएको व्यक्तिलाई पानी दिनु धर्म मानिन्छ। अन्यायका विरुद्ध बोल्नु र लोकहितको काम गर्नुलाई धर्म मानिन्छ। तर, समय फेरिएसँगै धर्मको स्थान र भूमिका पनि फेरिएको छ। अब त्यसलाई पहिलेकै अर्थमा लिइनु हुँदैन। त्यसको फरक व्याख्या हुनुपर्छ। त्यस्तो व्याख्या जसले समाजको समेत हित गरोस्।

अब आलेख तर्फ फर्कियौं। आलेखमा लिंग पूजालाई बढो प्रकाशमा ल्याइएको छ। अचेल महिलाहरुले यौनका मामिलामा र लैगिंकताका मामिलामा व्यक्त विचार त्यसै पनि चर्चा पाउने गरेको छ। सायद त्यसैको फाइदा उठाउन पनि अखबारले निश्चित वाक्यांशलाई प्राथमिकताका साथ प्रचार गरेको हुनसक्छ। युरोपको ६ वर्षे लामो बसाइमा जति युरोप चिनियो त्यो भन्दा बढी आफ्नै भूगोल र आफैंलाई चिनियो। धर्मको हकमा पनि यो बसाइले धेरै सघाउ पुर्‍यायो। सूचना प्रविधीको सहज पहुँचले जस्तो सुकै जिज्ञासा मेट्न पनि सहज बनायो। शिवलिंग सम्बन्धी जिज्ञासा पनि यही बसाइले नै सजिलो गरि मेट्न सहयोग गर्‍यो।

शिवलिंगको अर्थ शिवको जननेन्द्रीय भन्ने अर्थ गलत हो। भारतीय धर्म गुरू शद्गुरुले यसलाई शिवको चिन्ह मान्छन्। जस्तो पुलिंग र स्त्रीलिंगमा लिंग भन्ने शब्दको अर्थ चिन्ह भन्ने हुन्छ न कि पुरुषको जननेन्द्रीय, त्यस्तै शिवलिंगमा पनि लिंगको अर्थ चिन्ह भन्ने हुन्छ। पुरूष जननेन्द्रीयलाई संस्कृतिमा लिंग नभनेर शिश्न भनिन्छ। त्यसैले शिवलिंग भनेको शिवको तुरी भन्ने बुझाइ नै गलत छ। अर्को कुरा आकारको हो। आकार किन त्यस्तो भन्दा त्यो हाम्रो सोचको उपज हो। पुरानो समयमा दिपकलाई हेरेर ध्यान गर्ने भए पनि दिपक हावाले गर्दा स्थिर नहुने हुँदा स्थिर वस्तुका रुपमा शिवलिंगलाई स्थापना गर्ने गरिएको हो।

यस्तै अर्को मत अनुसार शिवलिंग शिवको लिंगभन्दा पनि सृष्टिको प्रतिक हो। शिवलिंगमा महिला र पुरुषको जननेन्द्रिय जनाउने संकेत हुन्छ जसले सृष्टिलाई प्रतिनिधित्व गर्छ। ठाडो भागको आधार महिलाको जननेन्द्रीय आकारको पत्थरमा अडेको हुन्छ। भारतीय धर्मगुरू शद्गुरुका अनुसार त्यो महिलाको गर्भ भित्रको आकृति हो। समागमका बेला स्त्रीको गर्भ भित्रको आकृति हो। गर्भ अर्थात सृष्टिको थलो। यसरी शिवलिंगको अनेकन व्याख्या पाइन्छन्।

अब त्यसलाई सतही रुपमा ठाडो देखियो ठाडो त पुरुषको जनजनेन्द्रीय मात्रै हुन्छ। त्यसैले हिन्दु धर्मले पुरुषको जननेन्द्रीय पूजा गर्न लायो भन्ने तर्क राख्नु अल्पज्ञान हुन्छ।

रामायण पनि धेरै अघिदेखि आलोचनाको शिकार भएको छ। खास गरी रामको सितासँगको व्यवहारले त्यसो भएको हो। आलेखमा पनि रामभन्दा रावणलाई उच्च स्थानमा राखेको छ। कारण उसले अर्काकी स्वास्नी हरण गरे पनि हात लगाएन र ससम्मान राख्यो। यो तर्क आफैंमा हास्यास्पद छ।

अर्काकी स्वास्नी जोगीको भेषमा आएर छल गरेर अपहरण गर्नु कसरी सही भयो? अर्को रामले अग्नीपरीक्षा लिन लाएको र पछि गर्भीणी अवस्थामा वनवास पठाएको प्रसंगले पनि राम कलंकित भएका छन्।

रामायणको कथा रामायणमा मात्रै सिमित छैन। त्यसको सुरुवात रामायण कालभन्दा अघि देखि छ। जस्तो रावण विष्णुको द्वारपालको अवतार मानिन्छ जो आफ्नो मुक्तिको लागि रामका हातबाट मारिन चाहन्थ्यो। त्यसैले सिता हरण लगायतका घटनाहरू घटे। रावणको इज्ज्त त रामले स्वयम् पनि गरेका थिए त्यसैले न मृत्यु शैय्यामा हुँदा रावणसँग अर्ती माग्ने काम गरे। ऊ त कथाको माग नै त्यस्तै थियो कि रावणलाई मार्नु पर्‍यो।

त्यस्तै अग्नीपरीक्षा र गर्भीणी अवस्थामा वनवासको पछाडि पनि कथाहरु जोडिएका छन्। रामले असल राजा र असल छोराको उदाहरण प्रस्तुत गर्ने क्रममा वनवास जानेदेखि लिएर अग्नीपरीक्षा लगायतका लिलाहरुमा सहभागी भए। जनताहरुले प्रश्न नउठाउन भन्नकै लागि अग्नीपरीक्षा थियो र जनताबाटै अनुमोदित हुनका लागि दोस्रो पटक पनि सतीत्वको सपथ खानु पर्ने कुरा आएको थियो।

लेखिकाले हेरेकै धारावाहिकमै त्यो विस्तारमा हेर्न पाइन्छ। सितालाई धर्मपुत्री बनाएका वाल्मिकीले सोही सभामा सीताको लागि आफ्ना हजार वर्षको तपस्याको फल दाउमा लाएको, आँशु झारिरहेका अन्य पुरुषहरु, रामले राजाका रुपमा सितालाई स्वीकार गर्न नसके पनि उनीसँगै वनवास सहजै स्वीकार्ने कुरा राख्नु, सीताले सतीत्वको प्रमाण स्वरूप पृथ्वीमा समाधी लिनु, सबैले क्षमा माग्नु, रामले धर्तीलाई सिता फिर्ता नगरे सृष्टीनै समाप्त गर्ने धम्की दिँदा सीता धर्तीको लिला सकेर पाताल मार्गबाट बैकुण्ठ गएको र उनको त्याग र धर्मपरायणतालाई तीनै लोकले पुज्ने वाल्मिकीको कथन, आदिलाई मनन गर्ने हो भने रामायण कालमा योनी अपवित्र मानिन्थे ‘लिंग’ मात्रै पवित्र थियो भन्नु र रामलाई दोष लाउनु व्यर्थका तर्क लाग्छन्।

तर्क गर्नैका लागि तर्क गर्ने हो भने त सिताको हजो जोत्दा भेटिनु, आगोमा नपोलिनु र अन्त्यमा धर्तीमा पस्नु आदिमा पनि प्रश्न गर्न सकिन्छ। सन्तान कसरी जन्मिन्छ सबैलाई थाहा छ। पृथ्वीको गर्भमा तातो ज्वालामुखी छ भन्ने पनि सर्वविदितै छ। पुरुषको जननेन्द्रीय कस्तो हुन्छ र त्यसको आयु कति हुन्छ भन्ने पनि सबैलाई थाहा छ।

पशुपतिमा भेटिने शिवलिंग जस्तो आकारको जनजनेन्द्रीय भएको पुरुष देखाइदेऊ। पुरुष जननेन्द्रीय र शिवलिंगको अन्तर च्याऊ र धरहराको आकारको अन्तर जस्तै छ। त्यस्तै योनीको हकमा पनि भन्न सकिन्छ। अनि एक थरी ‘कल्पनाहरू’ वास्तविकता मान्ने अनि अर्को थरीमा प्रश्न उठाउनु जायज हुन्छ ?

पशुपतिमा शिवलिंग देखेर पुरुष जननेन्द्रीयको मात्र पूजा हुन्छ भन्ने तर्क गरि रहँदा छेउकै गुह्येश्वरीमा केको पूजा हुन्छ भन्नु पर्दैन? महिनावारीका बारेमा अनेक बहस हुँदै गर्दा कामाख्यादेवीको खुब चर्चा हुनेगर्छ। योनी पूजा हुने सो मन्दिरमा रजस्वला भएको योनीलाई पवित्र मानी त्यसको समेत पूजा हुन्छ।

अनि कसरी भन्न मिल्छ योनी अपवित्र भनेर? पाँच पति भएकी पाञ्चाली र मदनमणि दीक्षितले नेपाली साहित्यानुरागीका लागि चुनौतीका रुपमा छोडेर गएको ‘माधवी’ को कथाले पनि योनीको पवित्रताको प्रमाण पेश गर्दैन र?

विवाहअघि गर्भबोक्ने र फरक फरक पतिको सन्तान जन्माउने कुन्तीलाई कसैले अपमान गरेको छ र ?

लेखिकाको समाजमा के हुन्छ थाहा भएन। तर, हाम्रो समाजमा छोरी चेलीलाई गोडा लाग्दा खुट्टा छोएर ढोग्छन्। विवाह गर्दा ‘गोडा’ धोएको पानी खान्छन्। यो पनि त हेर्नु पर्‍यो। हो हाल आएर हुने गरेका बलात्कारका घटनाहरुले हाम्रा यीनै संस्कार र परम्पराहरु विर्सिएको प्रमाणहरु दिइरहेका छन्।

महिलामाथि विभिन्न यौनजन्य हिंसा हुने गरेका छन्। संस्कार बार्ने नाममै छाउपडीको गोठमा सर्पले टोकेर मर्नेदेखि लिएर बलात्कारको शिकारसम्म हुने गरेका छन्। यी सबै धर्मको अपव्यख्या र संस्कारको नाममा कुसंस्कारलाई बढावा दिनाले भएको हो। नत्र कामाख्यामा देवीको योनीको पूजा हुने र रजस्वलाको बेला झन् बढि आदर हुने धर्ममा अर्का देवीहरुलाई गोठ खेदाइने कसरी सम्भव हुन्छ?

जुन रगतले जीवन सिंचित हुन्छ र जुन गर्भमा जीवन फूल्छ त्यो गर्भ कसरी अपवित्र हुन्छ। प्रजनन नभएका अवस्थामा गर्भको विऊ झर्दा हुने रक्तश्रावलाई अनेक कथा कहानी जोडेर महिलालाई अछुत बनाउने संस्कार धर्मका आडमा मौलाउनु हुँदैन बरू धर्मकै आडमा त्यस्ता संस्कारहरु तोडिनुपर्छ।

पौराणिक कथामा प्रश्न गर्नेभन्दा युगानुकुल सुधारका साथ समाजलाई अनुशासन सिकाउने खालको परिमार्जन गरिनु र समाजमा बाँच्न सहज हुने खालका संस्करणहरु निकाल्नु उचित हुन जान्छ।

कि त ईश्वर नमान्नुस् र पुराणका कथालाई कल्पना मान्नुस् नभए ईश्वरको लिला हो र चलचित्रमा हुने अभिनय जस्तै अभिनय हो जसको उद्देश्य समाजमा केही सन्देश छाडेर जाने हुन्छ भन्ने मान्नुस्। अग्नीपरीक्षा र धर्ती समाधी मात्रै हैन गितामा कृष्णले दिएको कर्मज्ञान पनि मान्नुस् जसमा कर्ता भाव नराख्न र सबै कुरालाई ईश्वरको काम मानेर आफू मात्र कठपुतली भएको मान्नुस्, त्यस्तो कठपुतली जसको डोरी ईश्वरको हातमा छ।

तपाईँ आस्तिक हुन र नास्तिक हुन स्वतन्त्र हुनुहुन्छ। म ईश्वर मान्दैन तर ईश्वरकै आस्थाका प्रमाण बनेका पुराणमा प्रश्न गर्छु भन्नु विरोधाभाषपूर्ण हुन्छ।

पैगम्बर मोहम्मदले इस्लाम सुरू गर्दा मूर्ती पूजाको विरोध त्यसै गरेका होइनन्। मूर्ती पूजामा यही समस्या हुन्छ। संकेत र प्रतिनिधित्व गर्ने नाममा अर्थको अनर्थ भइसक्छ। शिवलिंगको अर्थको अनर्थ हुनु त्यसको ज्वलन्त उदाहरण हो।

अनेक मन्दिरहरु र अनेक कथाहरुसँगै कुसंस्कारका लागि बल मिल्ने तर्क स्थापित हुनु त्यसैको उदाहरण हो। इस्लाम धर्मावलम्बीलाई अन्य थुप्रै अप्ठ्याराहरु भए पनि कम से कम ‘शिव लिंग’ले हिन्दुधर्मावलम्वीलाई दिएको जस्तो समस्या छैन।

मेरा विचारमा जाराथुस्त्रा, मुसा, ईसा, मोहोम्मद, वुद्ध, आदि जम्मै युगपुरुष थिए जसले युगानुकुल सुधारहरु ल्याए। सबैले आफ्नो जीवनको एक कालखण्ड सत्यको खोजीमा खर्चेका थिए। त्यो खोजबाट प्राप्त ज्ञान समाजमा बाँडेका थिए।

मलाई लाग्छ हामीले पनि व्यक्तिगत खोजहरू थाल्नु पर्छ। गहन अध्ययनबाट मात्रै युग परिवर्तनका विचार जन्मन्छन् न कि सतही टिप्पणीहरूबाट। अँध्यारोलाई उज्यालोले जितोस्। ज्ञानलाई अज्ञानले परास्त गरोस्। मृत्युलाई अमरताले जितोस्। सबैतिर शान्ती होस्। सबैको कल्याण होस्। अस्तु!

– सेतो पाटीबाट रमण पनेरूको लेख ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन