महिनावारी हुँदा चामल कुट्न हुने, खान नहुने कस्तो संस्कार ?

गाउँमा एक जना दिदीले ओखलमा धान कुट्दै गरेको देखेँ। उहाँ छुई (महिनावारी) भएको थाहा थियो। सोधेँ, ‘तपाईं छुई हुनुभएको हैन? चामल कुट्न हुन्छ? छोइँदैन?’

उहाँले भन्नुभो, ‘अहँ, चामल छुई हुँदैन।’

‘किन?’

‘यो सुख्खा हुन्छ।’

मलाई अच्चम लाग्यो। छुई हुँदा धान कुटेर बनाएको चामल नछोइने रे! पकाएको खान चाहिँ नहुने!

छुई हुँदा कुटेको त्यही चामल मन्दिरमा देवतालाई अक्षता चढाउन मिल्ने! भान्सामा पाक्ने! सबैले त्यही खाने। अनि तिनै छाउ परेकी महिला सुख्खा रोटी चपाउँदै घर-मन्दिरबाट टाढा बस्नुपर्ने। चामलको भात खाँदा अशुभ हुने। जूठो हुने। कतिसम्मको अन्धविश्वास! अन्धविश्वास भनुँ कि महिलामाथिको हेपाइ?

जे भने पनि धार्मिक आस्था र विश्वासका नाममा जरो गाडेको यो रित महिलामाथिको चरम यातना हो। जसले बढी स्याहार चाहिने सुत्केरी र महिनावारी अवस्थाका महिलालाई घरभित्र छिर्न दिँदैन। गोठमा गाईवस्तुसरह बस्न बाध्य पार्छ। सार्वजनिक धारो, बाटो, मन्दिर, विद्यालयजस्ता ठाउँमा जान वञ्चित गर्छ। उनीहरूलाई कैदीझैं शारीरिक र मानसिक पीडा खेप्न मजबुर पार्छ।

छाउपडी भनिने यो कुरितिले कुनै न कुनै रूपमा देशैभरि निरन्तरता पाएको छ। मध्यपश्चिम र सुदुरपश्चिममा अझ बढी। छुई भएका महिला परिवारका अन्य सदस्यबाट अलग्गै बस्नुपर्छ। गाई-भैंसीको घ्यू, दूध, दही खान पाउँदैनन्। मन्दिर र पूजाआजामा बन्देज हुन्छ। यी कठोर संस्कारलाई मलजल गर्ने प्रवृत्ति एक्काइसौं शताब्दीमा पनि यथावत् छ।

महिनावारी हुँदा शरीरबाट एक सातासम्म रगत बग्छ। उनीहरूलाई तागतिला खानेकुरा चाहिने, झोलिलो र पोसिलो खुवाउनुपर्ने यही बेला हो। हाम्रो सामाजले भने महिलालाई ख्याल गर्न सिकाउँदैन। छोरी, बुहारी, आमा, दिदीबहिनी जोसुकै होस्, उनीहरूको स्त्रीत्वको कदर गरिँदैन। उनीहरूलाई घरको ‘इन्जिन’ मानिन्छ जो निरन्तर घोटिइरहनुपर्छ। निर्जीव पाटपूर्जाको बरू स्याहारसम्भार हुन्छ, महिलाको सेवा-सुरक्षा कहीँ छैन। उल्टो तिरस्कार गरिन्छ, अछुत बनाइन्छ। चिसो, अँध्यारो, गुम्सिने गोठमा (खुल्लोमा) हुलिन्छ। अनि भनिन्छ- धर्म र परम्परा यही हो, यसैअनुसार चल।

रत्ना न्यौपाने

आँखा चिम्लेर यो कुरीतिका पछाडि होमिएकाहरूलाई म सोध्न चाहन्छु, के धर्म र भगवान फरक हुन्? होइनन् भने देवी, सरस्वती, लक्ष्मी, भगवती पनि महिला हुन्। उनीहरूको पनि छुई हुन्छ होला। धर्मले यी भगवानलाई छुई भएका बेला नछुनू, गोठमा राख्नू त भनेका छैनन् नि।

कुनै मन्दिर जाँदा भगवानले ‘तँ छुई भएकी छेस् कि छैनस्? भएकी भए नआइज’ भनेर कहिल्यै भन्दैन। अनि हाम्रो समाजले किन रोक्छ? किन ‘अनिष्ट’ हुने त्रास देखाएर बहकाउँछ? किन हामी छोरीहरूलाई जन्मनेबित्तिकै विभेदको डोरीले कसिन्छ?

त्यो डोरी कसिलो छ। हामी एक्लैले चुँडाउन सक्दैनौं। प्रत्येक घरका चुह्लाचौकामा अन्धविश्वासको आगो दन्केको छ। त्यो आगो हामी एक्लैले निभाउन सक्दैनौं। न त्यो आफैं निभेर जान्छ।

सहरका केही ठाउँमा यो अन्धविश्वास कम भयो होला, तै अधिकांश घरमा लुकिछिपी हुर्किरहेको छ। नयाँ पुस्ताका छोरीहरू पनि आफ्ना आमाबा-दाइदिदीले लादेको परम्परामा हिँड्न बाध्य छन्। यसले छोरीहरूमा परेको शारीरिक र मानसिक असर कसैलाई वास्ता छैन। ‘रित त्याग्न हुन्न, देवता रिसाउँछन्’ देखि ‘चलन नमाने मान्छेले के भन्छन्’ भन्नेसम्म सुनिन्छ।

सर्वाेच्च अदालतले २०६२ सालमा छाउपडी प्रथालाई कुरीति घोषणा गर्यो। त्यसको दुई वर्षपछि सरकारले छाउपडी उन्मूलन निर्देशिका जारी गर्यो।

छाउपडी उन्मूलनका लागि सरकारले धेरथोर प्रयास नगरेको होइन। विभिन्न सामाजिक संघ-संस्था र सरकारी निकायमार्फत् सञ्चालित अभियान क्रममा धेरैले आफू सुधारमुखी भएको बताउँछन्। तर, उनीहरूको व्यवहारमा परिवर्तन आएको हुँदैन। केन्द्रमा बसेर छाउपडी निम्ति उठाएको आवाज गाउँसम्म पुगेकै छैन। पुगे पनि सुनिएको छैन। सुनिए पनि लागू कसैले गर्दैन। घरभित्र होस् या बाहिर हरेक छोरीचेली आज पनि छाउको व्यथामा छन्।

कर्णालीका कुनाकन्दरामा गएर हेर्नुस्, बझाङ-बाजुरामा हेर्नुस्, त्यहाँ हरेक घर पर सानो कोठा आकारको खुल्लो (गोठ) बनाइएको हुन्छ। त्यहाँभित्र खुट्टा तन्काएर सुत्न मिल्दैन। उभिँदा टाउको ठोकिन्छ। ओढ्ने-ओछ्याउने हुन्न। यस्तो ठाउँमा ५–७ दिन घरपरिवारबाट टाढा बस्नुपर्छ। स्वास्थ्य र सुरक्षाका हिसाबले महिलाहरूका लागि योभन्दा ठूलो जोखिम अरू के होला?

यही कुरीतिका कारण धेरै महिला विभिन्न रोगले थलिन्छन्। कति दिदीबहिनी छाउगोठमै बलात्कार र यौनशोषणको शिकार बन्छन्। कतिको ज्यानै जान्छ। गत वर्ष अछामको मंगलसेनमा एक सुत्केरी र उनका छोराको धुँवाले निस्सासिएर ज्यान गयो। केही महिनाअघि दैलेखमा एक किशोरीको छाउगोठमा सर्पले डसेर मृत्यु भयो।

२०७३ असोजमा बाजुराको एउटा गाउँमा छाउगोठ बाढीले बगाउँदा तीन महिलाको ज्यान गयो। अस्ति भर्खरै हो, छाउगोठमा आमा र दुई छोराको मृत्यु भएको। यस्ता दुःखद घटना कति भए कति।कहिलेसम्म महिलाको यो दुर्गति देश-विदेशका अखाबारमा समाचार बनिरहने? के हामी यसैबाट चिनिँदै जाने हो? होइन भने किन परिवर्तनको प्रयास गर्दैनौं हामी?

हिन्दी फिल्म ‘प्याडम्यान’ का वास्तविक नायक अरुणाचलम मुर्गनाथमले कस्तो परिस्थितिमा प्रयास गरेका थिए? भारतको पिछडिएको गाउँका सामान्य व्यापारी थिए उनी। आफ्नी श्रीमतीले महिनावारी बेला फोहोर कपडा प्रयोग गरेको देखेपछि उनलाई दिक्दार लाग्यो। श्रीमती र दिदीबहिनीका लागि सफा र सुरक्षित प्याड बनाउन अनेक बाधा खेपे। घरपरिवार, समाजको बेइज्जती र गालीका बाबजुद आफैं प्याड बनाएर महिलाहरूलाई सहज बनाइदिए। अधर्मी संस्कृतिको पीडाबाट मुक्त गराए। उनको यो प्रयास आज विश्वका धेरै देशमा कदर भएको छ।

उनलाई हेरेर पनि भन्न सकिन्छ, परिवर्तन सम्भव छ। एकैपटक नहोला, सबैतिर नहोला, तर थोरै-थोरै, विस्तारै-विस्तारै सम्भव छ। यसनिम्ति हामी महिलाले पहिलो कदम चाल्नुपर्छ। महिनावारीका विषयमा आफ्ना परिवारका सदस्यसँग खुलेर गफ गर्न सिक्नुपर्छ। आफ्नो शरीरलाई माया गर्न थाल्नुपर्छ। छोरा र छोरी दुवैलाई महिनावारीबारे बताउनुपर्छ।

बा, काका, दाजुभाइहरूले पनि अग्रसर भएर छाउपडीजस्तो कुरीतिको विरोध गर्नुपर्छ। अनि बल्ल छाउ उन्मूलनको बाटो सिर्जना गर्न सकिन्छ। तब न तपाईंहरूका आमा, काकी, श्रीमती, दिदीबहिनी, छोरीले सुन्दर जीवन देख्नेछन्।

– सेतो पाटीबाट रत्ना न्यौपानेको लेख ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन