हिरो महिला गोल्डकपमा इरानविरुद्ध नेपालको शानदार जित

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् ।

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी थिइन् । आजको खेलमा फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हरायो ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलकाे नतिजा कुर्नुपर्नेछ । नेपाल र म्यानमारकाे समान ६/६ अंक रहेकाे छ भने भारतकाे ३ अंक रहेकाे छ । यदि म्यानमारले भारतलाई हरायाे वा खेल बराबरी भयाे भने नेपाल फाइनलमा पुग्नेछ ।

यदि म्यानमारलाई भारतले ठूलाे मार्जिनले जित्याे भने नेपालकाे फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ । खेलपछि नेपाली खेलाडी केही भावुक भएका थिए, उनीहरुले मैदानमा पुगेकाे समर्थकलाई सपाेर्टका लागि धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन