विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने मेडिकल कलेजलाई तत्कालै कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं – पूर्व स्वास्थ्य मन्त्री सांसद गगन थापाले गैरकानुनी काम गर्ने मेडिकल कलेजलाई तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

मेडिकल कलेजका विकृति र विसंगतिका विषयमा स्वास्थ्यखबरसँगको कुराकानीमा सांसद थापाले सबै मेडिकल कलेजका विषयमा सरकारले तत्कालै उच्चस्तरीय छानबिन समिति गठन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

‘मेडिकल कलेजहरूले विद्यार्थीमाथि गैरकानुनी रूपमा शुल्क उठाएको लगायतका विषयहरू सार्वजनिक भइरहेको छ,’ सांसद थापाले भने, ‘यो विषयलाई सरकारले गम्भीर रुपमा लिँदै तत्कालै छानबिन समिति गठन गरी आवश्यक कदम चाल्नुपर्ने हुन्छ।’ सांसद थापाले सरकारले तोकेको शुल्क नमानेर मेडिकल कलेजले गैरकानुनी काम गरेको उल्लेख गर्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने कलेजलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए।

‘गैरकानुनी रूपमा मागेको शुल्क नदिँदा विद्यार्थीलाई फेल नै गराइरहेको खबर आइरहेको छ। यो त सरासर कानुनी राजको उपाहस हो,’ उनले भने, ‘त्यसकारण यस्ता कलेजलाई राजनीतिक वा अन्य कुनै पनि आवरणमा उन्मुक्ती दिने काम गर्नुहुँदैन। उनीहरूलाई प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’ उनले मेडिकल कलेजको नियमनसँग जोडिएका मन्त्रालय, विश्वविद्यालय, मेडिकल काउन्सिल तथा अन्य सबै निकायले आ–आफ्नो कानुन अनुसार कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिए।

‘विगत डेढ महिनादेखि गण्डकी मेडिकल कलेजका विद्यार्थीले आन्दोलन चर्काउँदा समेत नियनकारी नियकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको देखिएन,’ उनले भने, ‘यता किस्ट मेडिकल कलेजमा त विद्यार्थी नै फेल गरेर मेडिकल कलेजले प्राज्ञिक संस्थाको मर्यादा नै गिराइरहेको छ। त्यसकारण यी सबै विषयमा सरकार गम्भीर हुनैपर्छ। दोषीलाई कारबाही गरेर विद्यार्थीलाई न्याय गर्नैपर्छ।’

सांसद थापाले यो विषयमा संसदमा पनि कुरा उठाउने जानकारी दिए। सरकारले तोकेको सीमाभन्दा शुल्क बढी रकम लिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले ४५ दिनसम्म कलेजमा तालाबन्दी गरेका थिए। उनीहरुले जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म कलेजको बदमासीका विषयमा उजुरी गरेका छन्।

यस्तै किस्ट मेडिकल कलेजका विद्यार्थीले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्। मेडिकल कलेजले मागेको अवैध शुल्क नदिएपछि कलेजले विद्यार्थीलाई फेल नै गराएको उजुरी प्रशासनमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन