मकै बेचेरै मनहरिले कमाउँछन् मासिक ८० हजार

भरतपुर – गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले संघर्षको पापड बेल्नसम्म बेलेका छन्। विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ। दिनभरि काम गरेर पनि घर खर्चसम्म चलाउन धौधौ हुने उनलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ।

पसिनाको कमाइ खानुको मज्जा उनलाई मात्रै थाहा छ। कामको पूजा गर्ने उनले पूर्वपश्चिम राजमार्गको गैँडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्छन्। नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उनीजस्ता ८० स्थानीयवासी छन्। एकै जनाले मकै बेचर मासिक ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन्।

सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर मकैं बेच्दै आएका छन्। पहिला आफूमात्रै आएर मकै बेच्दै आएका मनहरिले पछिल्लो समय श्रीमती कमला सापकोटालाई पनिसँगै लिएर मकै बेच्ने थालेका छन्। दुबै मिलेर व्यापार गर्दा मासिक ८० हजारसम्म कमाइ हुनेगरेको उनले बताए।

सो क्षेत्रमा उनी जस्तै मकै बेच्ने ६ दम्पती छन्। उनीहरुको दैनिकी पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानमा आउने यात्रुलाई मकै बेच्नु हो। प्लास्टिकमा पोको पारेको मकै बेच्न उनीहरु तछाडमछाड गरेर लाग्ने गरेका छन्। करीब पाँच सय मिटर क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ। एक जनाले दिनमा १५० देखि २०० घोगासम्म मकैं बेच्ने गरेको मनहरिले बताए। पोलेको मकै प्रतिवटा २० रुपैयाँमा बेच्ने गरिन्छ। दश घोगा मकैलाई १०० रुपैयाँमा बेच्ने गरिएको छ। उनीहरुले आफ्नै खेतबारीमा दुई सिजन मकै लगाउने गरेका छन्। आफूसँग मकै नभएको बेलामा अन्यक्षेत्रबाट खरिद गरेर भए पनि मकै बेच्ने गरेको मनहरिले बताए।

‘बाहिरबाट मकैं खरिद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ,’ मनहरिले भने,’मकैं बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ।’ गैँडाकोट–७ कै ईन्द्रराज कँडेलले दैनिक एक हजारदेखि एक हजार ५०० रूपैयाँसम्म फाइदा हुने गरेको बताए। आफ्नो तीन कठ्ठा जमिनमा लगाएको मकैले सोचेभन्दा धेरै फाइदा दिइएको उनले बताए। ६ वर्षअघि लागेको यस पेसाबाट निकै सन्तुष्टी मिलेको उनी बताउँछन्।

‘यात्रु आफै गाडी रोकेर मकै किन्छन्,’ उनले भने,’यसले गर्दा पनि पेशाप्रति थप चासो थपिएको छ।’ गैँडाकोट–७ कै देवप्रसाद सापकोटाले पनि श्रीमतीसँगै दैनिक मकै बेच्न राजमार्गमा आउने गरेका छन्। उनीहरू दुबै जनाले दिनमा ५०० घोगा मकै बेच्ने गरेको सुनाए। दुबै जनाले मकै बेच्दा मासिक ८० हजारसम्म फाइदा हुने गरेको उनले बताए। शुरुवातमा चार-पाँच जना भएर मकै बेच्ने गरेकामा अहिले दर्जनाैं भइसकेका छन्।

व्यापार राम्रो भएकाले सङ्ख्या बढेको उनले बताए। संख्या बढे पनि व्यापारमा कुनै कमी नआएको सापकोटाले बताए। नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ। नगरपालिकाले मकै बेच्ने ठाउँको सरसफाइमा ध्यान दिन र तछाडमछाड नगरी व्यवस्थित रुपमा व्यापार गर्न आग्रह गरको नगरप्रमुख छत्रराज पौडेलले बताए। उनले भने,’आफ्नै ठाउँमा आत्मनिर्भर बन्नेगरी व्यापार गर्नु राम्रो हो, तर व्यवस्थित हुनुपर्छ।’ रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन