साईंलीलाई दर्शकको राम्रो साथ

हेमन्त रानाले गाएको गीत ‘साईंली’ केही वर्षअघि स्रोताहरुको मनमा बस्न सफल भयो । चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण गरिएको फिल्मलाई ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनी माटो सुहाउँदो फिल्म बनाउने निर्देशकको रुपमा परिचित छन् । उनका फिल्म प्रायः समाज केन्द्रित हुन्छन् । यसकारण पनि फिल्म हेरिरहँदा धेरैले आफ्नै कथा महशुस गर्दछन् । ‘कबड्डी’ सिरिजलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

परिवारलाई खुसी दिन परदेशिएका श्रीमान र उनलाई गाउँमा कुरेर बसेकी श्रीमतीबीचको मार्मिक कथा ‘साइँली’ गीतमा उठाइएको थियो । फिल्मले पनि देशको प्रमुख समस्याको रुपमा रहेको बैदेशिक रोजगारीकै कथा भनेको छ । एउटा युवक कसरी धन कमाउनका लागि विदेशिन बाध्य हुन्छ ? भन्ने फिल्ममा देखाइएको छ ।

‘साईली’ गीतको भिडियोमा साईंली बनेकी मेनुकाको त परिचय नै त्यहि बन्यो । उनलाई अहिले पनि धेरै दर्शकले साईंली भनेरै चिन्छन् । यहि लोकप्रिय गीतकै नाम राखेर निर्माण गरिएको र त्यहि भिडियोका कलाकार मेनुका, गौरवसँगै दयाहाङ राई र केनिपा सिंहलाई अभिनय गराईको फिल्म ‘साईंली’ शुक्रबारबाट हलहरुमा प्रदर्शन भईरहेको छ ।

लेखन र निर्देशन रामबाबु गुरूङको रहेको फिल्मलाई दर्शकले पनि साथ दिएका छन् । रिलिज लगत्तै अन्य निर्देशक र फिल्मकर्मीहरुले पनि साईंलीको प्रशंसा गरेका छन् । यसअघि थुप्रै सफल फिल्म दिईसकेका रामबाबु गुरुङलाई साईंलीले अझै माथि उकास्ने चलचित्रकर्मीहरुको प्रतिक्रिया छ ।

गौरव पहारी र हेमन्त रानाको कम्पनी जिएच इन्टरटेन्मेन्टले प्रस्तुत गरेको साईंलीमा गीतको भिडियोको भन्दा अगाडिको कथा प्रस्तुत गरिएको छ । विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा छन् । फिल्ममा माओत्से गुरुङले पनि अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन