काठमाडौंको धुलो हटाउन रातभरी यसरि चल्छन ब्रुमर ( भिडियो )

काठमाडौं – काठमाडौं महानगरपालिकाले हालै इटालीबाट ल्याएको ५ वटा ब्रुमर रातको समयमा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले बुधबार बेलुकाबाट ५ वटै ब्रुमर सञ्चालन सुरु गरेको छ ।

“विभिन्न ५ वटा रुटमा ५ वटै ब्रुमर रातको ८ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन सुरु गरेका छौं,” काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बाह्रखरीसँग भने, “महानगरपालिकाका २० जना कर्मचारी र चालकसहित रातको समयमा काठमाडौंका सडकको धुलो सफा गर्न सुरु गरेका छौं ।”

बु्रमर सञ्चालन भएको ४ दिनमा १ सय ८० टन धुलो सङ्कलन भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उक्त धुलो टेकुस्थित फोहोर सङ्कलन केन्द्रमा फालिएको छ ।

सञ्चालनका क्रममा शुक्रबार राति एउटा ब्रुमर बिग्रिएपछि सामाजिक सञ्जालमा बिग्रिएको ब्रुमरबारे विभिन्न टीकाटिप्पणी भएका छन् । महाराजगञ्ज क्षेत्रमा सडकको धुलो सङ्कलन गर्ने क्रममा शुक्रबार राति ब्रुमरको इलेक्ट्रोनिक्स वाइरिङको फ्युज गएको श्रेष्ठले बताए ।

“ब्रुमरमा ठूलो समस्या आएको होइन । फ्युज गएपछि ब्रुमर स्टार्ट भएन र क्रेनको सहायताले मर्मत गर्ने स्थानसम्म लगेका हौं । अहिले फ्युज फेरेर ब्रुमर बनिसकेको छ र सञ्चालन सुरु गरिसकेका छौं,” श्रेष्ठले भने ।

काठमाडौंको सुन्धारा, नयाँ बानेश्वर, तीनकुने, थापाथली, त्रिपुरेश्वर, एयरपोर्ट, दरबारमार्ग र जमल क्षेत्रको सडकमा रातको समयमा बुधबारबाट धुलो घटाउँदै धुलो हटाउने लक्ष्यका साथ ब्रुमर सञ्चालन भएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन