वैदेशिक रोजगार व्यवसायीको गोली हानि हत्या

तौलिहवा – कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ।

अपरिचित व्यक्तिले गोली हानेर स्थानीय ४५ वर्षीय पारस पुरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए।

पारसको छातीमा गोली लागेको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ। एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर नजिकै गोली हानेका हुन् । गोली हानेपछि उनीहरू भागेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ। घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा जाँच कडा पारिएको जनाएको छ । हत्याराहरूको खोजि तिव्र पारिएको प्रहरी उपरीक्षक पुडासैनीले बताए।

पारस बैदेशिक रोजगारको काममा संलग्न थिए । स्थानीय बासिन्दाका अनुसार, उनी युवालाई रोजगारीका लागि विदेश पठाउने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन