प्रधानमन्त्रीले भने : पीडा भोगेर यहाँ कार्यक्रम गरिराख्नु जरुरी हुँदैन, स्थलगत हेर्न जाँदै छु

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बारा र पर्सामा आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचार गर्न प्रवन्ध मिलाएको बताएका छन्।

सोमबार झापाको दमक नगरपालिकामा पशुपंक्षी हाट बजार उद्घाटन कार्यक्रममा संक्षिप्त बोलेका प्रधानमन्त्री ओलीले हावाहुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिए भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

‘पीडा भोगेर यहाँ कार्यक्रम गरिराख्नु जरुरी हुँदैन। म हावाहुरीबाट क्षति पुगेका बारा, पर्सामा स्थलगत हेर्न जाँदै छु,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमरी परेर आँधी आएको रहेछ। घाइतेहरुको राम्रो उपचारको प्रबन्ध गर्न भनेको छु।’

पर्सा र बारामा राजधानी काठमाडौं र छिमेकी जिल्लाहरुबाट स्वास्थ्यकर्मी पठाइएको पनि प्रधानमन्त्रीले जानकारी गराए। ‘राहत र सहयोगका लागि सबैलाई परिचालित हुन मैले आग्रह गरिसकेको छु। पार्टीका कार्यकर्ता, विभिन्न संघसंस्थालाई। प्रदेश नम्बर २ मा मन्त्रिपरिषद बैठक बसेर राहत घोषणा गर्न पनि भनिसकेको छु,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीले फुसका छाना भएका धेरै घरहरु उडाएको, सडकमा गुडिरहेका बस र कारहरु हावाहुरीले पल्टाउँदा क्षति पुगेको पनि बताए।

आइतबार साँझ आएको हावाहुरीले पर्सा र बारामा गरी २७ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन