१६ लाख पारिश्रमिक लिएर साम्राज्ञीले गरिन् नयाँ फिल्ममा साइन्

अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाह ‘ब्याक टू ब्याक’ फिल्म गर्ने मुडमा देखिएकी छिन् । केही दिनदेखि नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त उनले निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । यो फिल्म केही समय पछाडि धकलिएपछि उनले एक नयाँ फिल्म साइन गरेकी छन् ।

‘मारुनी’ को छायांकन पूरा भएलगत्तै उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको छ । केही दिनयता निर्देशक शर्मा अभिनेत्रीको खोजीमा थिए । सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा उनले १६ लाखको आसपासमा पारिश्रमिक पाएको बुझिएको छ ।

यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए । त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त फिल्म गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए ।

नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस फिल्ममा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि-एरेञ्ज गरेर राखिने छ ।

फिल्मको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन