सामान्य नागरिक भई आफ्नो पेशामा फर्किएको भन्दै विप्लव कार्यकर्ता द्वारा पार्टी परित्याग

बेनी – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका नेता कार्यकर्ताले म्याग्दीमा पदबाट राजिनामा दिन थालेका छन्। प्रहरी र प्रशासनले निगरानी बढाउन र पक्राउ गर्न थालेपछि विप्लप समूह निकट विभिन्न संगठनका नेताले पेशा व्यवसाय गर्ने वातावरण नभएको भन्दै राजिनामा दिन थालेका हुन्।

विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन म्याग्दीका कार्यवाहक अध्यक्ष मालिका गाउँपालिका ३ डाँडागाउँका थमबहादुर पुनले आइतबार एक विज्ञप्ति निकालेर पार्टी र संगठनको सदस्यता त्यागेको घोषणा गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्,’ नेपालको संविधानलाई पूर्णरुपमा पालना गर्दै सामान्य नागरिक भई आफ्नो पेशा व्यवसायमा रहने जानकारी गराउँदछु।’ डाँडागाउँको अमरज्योती माविका शिक्षक रहेका पुनलाई गत चैत १० गते पक्राउ गरेर हिरासतमा राखेको छ।पुनले प्रहरी हिरासतमै विज्ञप्ति निकालेर राजिनामा दिएका हुन्।

एनसेलको टावर आगजनीमा संलग्न भएको आरोपमा सोधपुछका लागि पुनसहित नेकपाको जिल्ला जनसरकार संयोजक जगत पुन र युवा संगठनका जिल्ला सदस्य रमेश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसअघि बेनपा ४ तातोपानी निवासी विप्लप समूहको जिल्ला सदस्य तथा मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रेम श्रीस र शिक्षक संगठनका जिल्ला सदस्य सन्तोष गिरीले पनि विज्ञप्ति निकालेर राजिनामा दिएको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन